महानगरपालिका तथा उपमहानगरपालिकामा पनि आवेदन खुला
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न ७ वटा उपसमिति गठन गरेको छ । ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखाका बहुआयामिक पक्षहरूमा छलफल गर्दै उपसमितिहरु गठन गरेको संयोजक विपिनकुमार आचार्यले बताए ।
उनकाअनुसार उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि समिति सदस्यहरूकै संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको हो ।
क्यान्डिडेट क्लब हेर्न कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
प्रविधि हेर्न सुशान्त वैदिक, गुनासो समन्वय गर्न जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिता हेर्न डा. तोसिमा कार्की, क्षमता विकास समन्वय गर्न टासी ल्हाजोम, व्यवस्थापन हेर्न रहबर अन्सारी, प्रचारप्रसार हेर्न मिलन लिम्बूको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।
यसैगरी उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको छ ।