सप्तरी ।बजार अनुगमन टोलीले सप्तरीमा मंसिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको छ । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका–५ मा माँ डाक्नेश्वरी ट्रेडर्समा छापा मार्दा ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी बताए ।
उनका अनुसार डाक्नेश्वरी नगरपालिका–५ मा दर्ता रहेको उक्त टेड्रर्सले कालोबजारी गरी मल बिक्री गर्दै आएको थियो । मङ्सिर १९ गते डाक्नेश्वरी नगरपालिका–९ को आदर्श ट्रेडर्स एन्ड सप्लायर्सबाट दुई सय बीस बोरा र हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का सत्यनारायण यादवको घरबाट मङ्सिर २६ गते एक सय ३९ बोरा मल जफत गरिएको थियो । जफत गरिएको मल साल्ट ट्रेडिङको अनुदान प्राप्तमध्यकै हो। सो मल जफत गर्ने बेला सम्बन्धित व्यक्ति नभेटिएकाले कोही पनि पक्राऊ परेका छैनन।
अनुगमनका क्रममा बिल बीजकबिना कारोबार गर्दैआएका चारवटा संस्थालाई जरिवानासमेत गरिएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–९ को नर्सिङ कृषि संस्था लिमिटेड, जयबाबा गणिनाथ उपभोक्ता संस्था लिमिटेड, हंस उपभोक्ता संस्था लिमिटेडलाई रु पाँच हजार र कृति टेड्रर्स राजविराजलाई रु बीस हजार जरिवाना गरिएको छ।