• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कोपमा नेपालले के के एजेण्डा उठाउँदैछ ?


  • शान्ति नेपाल
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौँ । कृषि, वन तथा पर्यावरण  मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन् । फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उहाँले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन् ।

मन्त्री चौधरीले हानि तथा नोक्सानी कोषबाट नेपालले २ करोड १६ लाख अमेरिकी डलर प्राप्त गरेको र अनुकूलन कोषबाट करिब ४ करोड ५० लाख डलरका तीन परियोजना अघि बढाउन स्वीकृति पाएको जानकारी दिइन् । तर, जलवायु वित्त पर्याप्त, समयमै र ऋण नभई अनुदानका रूपमा उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपालले भुटानसँग मिलेर हिमालमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको विषयलाई कोप–३१ को कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेको उनले बताइन् ।

विकसित राष्ट्रहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन सहयोग तीन गुणा बढाउनुपर्ने र हिमाली समुदायका समस्या विश्व जलवायु वार्तामा प्राथमिकताका साथ उठाउनुपर्ने मन्त्री चौधरीले जोड दिइन् ।

‘जलवायु कूटनीति दया माग्ने काम होइन, यो हाम्रो अधिकार, सबैको जिम्मेवारी र साझेदारीको कुरा हो,’ उनले भनिन् ।

जलवायु वित्त स्थानीय तहसम्म पुर्‍याउँदै महिला, आदिवासी जनजाति, दलित तथा युवाको सहभागिता सुनिश्चित गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend