शान्ति नेपाल
काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको ‘एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन’ नेपालमा आयोजना गर्ने विषयमा सरोकारवालाहरूबिच उच्चस्तरीय छलफल भएको छ ।
सभामुख डोलप्रसाद अर्यालको पहलमा मंगलबार भएको छलफलमा सङ्घीय संसद् र आईपीयूको संयुक्त आयोजनामा काठमाडौँमा सम्मेलन सम्पन्न गर्ने प्रस्तावमाथि गहन विचारविमर्श भएको हो ।प्रस्तावित सम्मेलनमा दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका चुनौती तथा मिथेन ग्यास उत्सर्जन न्यूनीकरणजस्ता समसामयिक र संवेदनशील विषयहरूलाई प्रमुख एजेन्डा बनाइनेछ ।
छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी, परराष्ट्रमन्त्री शिशिर खनाल तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलगायत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनले एसिया–प्रशान्त क्षेत्रका संसद्हरूबिच आपसी सम्बन्ध विस्तार, संसदीय सहकार्य अभिवृद्धि तथा जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न साझा रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सभामुख अर्यालको नेतृत्वमा सहभागी नेपाली प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ‘हिमाली तथा जलवायु संवेदनशील क्षेत्रमा विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि सम्बन्धी प्रस्ताव महासभामा दुई तिहाइ बहुमतले पारित भएको थियो ।
महासभापछि नेपाली प्रतिनिधिमण्डलले केन्या पुगेर त्यहाँको संसदीय बजेट कार्यालय र संसदीय निगरानीसम्बन्धी अभ्यासको समेत अध्ययन अवलोकन गरेको थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend