शान्ति नेपाल
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ।
ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।
महामन्त्रीतर्फ मतगणनाको अपडेट आएको छ।
जसअनुसार महामन्त्री पदमा प्रदीप पौडेल अरूभन्दा झन्डै दोब्बर मतले अगाडि छन्।
यो खबर बनाउँदासम्म प्रदीप पौडेलले १ हजार ३ सय ७० मत पाइसकेका छन्।
यसपछि उदयशमशेर राणा छन्। उनले अहिलेसम्म ७८३ मत प्राप्त गरेका छन्।
यसपछि अमर पुनले ६८७ र सुनिल शर्माले ५३९ मत ल्याएका छन्।
महामन्त्रीमा २ खुला र १ महिला गरी ३ जना निर्वाचित हुनेछन्।
अहिलेसम्मको गणनाले खुलातर्फ प्रदीप पौडेल र उदय राणाको सम्भावना प्रबल देखिएको छ।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा छन्।
बिहानसम्म डिला अगाडि देखिएको थिइन्। नयाँ अपडेट आइसकेको छैन।
यस्तै उपसभापतितर्फ पनि नयाँ परिणाम प्राप्त छैन।
उपसभापति खुलामा डा. चन्द्रकान्त भण्डारी, इ. मधु आचार्य, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, दीपक गिरी, धनराज गुरुङ र प्रा.डा. चन्द्र मोहन यादव प्रतिस्पर्धामा छन् भने समावेशीतर्फ विनोदकुमार चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण चुनावी मैदानमा छन्।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
अब जारी मतगणनाबाट खुला २ र समावेशी १ उपसभापति चुनिनेछन्।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend