शान्ति नेपाल
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएको करिब छ महिना पुग्दै गर्दा सिन्धुपाल्चोक–१ का सांसद भरत प्रसाद पराजुलीले आफूले मतदातासमक्ष गरेका प्रतिबद्धता नबिर्सिएको बताएका छन्। बजेट कार्यान्वयनको चरण सुरु भएसँगै अब सिन्धुपाल्चोकको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
“बजेट कार्यान्वयनको बेला अब सुरु भएको छ। हाम्रो सिन्धुपाल्चोकको विकास गर्नु हामी सबैको साझा जिम्मेवारी हो। जनताका आवश्यकता र चाहना बुझेर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वयबाट मात्रै सिन्धुपाल्चोकको विकास सम्भव छ,” पराजुलीले भनेका छन्।
उनले पाँच वर्षको अवधिमा जिल्लाका लागि धेरै काम गर्न सकिने उल्लेख गर्दै जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट जन्मभूमि र कर्मभूमिका लागि योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी माधव सापकोटालाई ७ हजार ८५ मतले पछि पारेका थिए।
निर्वाचनअघि सार्वजनिक भएका समाचार तथा अन्तर्वार्ताहरूमा पराजुलीले सिन्धुपाल्चोकको विकासलाई स्थानीय आवश्यकतासँग जोड्ने, रोजगारी तथा उद्यमशीलता बढाउने र विकासलाई परिणाममुखी बनाउने विषयलाई प्राथमिकतामा राखेका थिए। नेपाल प्रेसले प्रकाशित गरेको चुनावी सामग्रीमा उनलाई खानेपानी अभियानसँग जोडिएको सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्दै सिन्धुपाल्चोकको विकासको आफ्नै मोडलसहित चुनावी मैदानमा आएको उल्लेख गरेको थियो।
निर्वाचनपछि प्रकाशित विवरणमा पनि ऊर्जा तथा पूर्वाधार क्षेत्रको अनुभवलाई उनले राजनीतिक भूमिकासँग जोड्न खोजेको उल्लेख छ। दुई दशकभन्दा बढी समय ऊर्जा क्षेत्रमा काम गरेको र विभिन्न जलविद्युत् आयोजनासँग जोडिएको पृष्ठभूमि भएकाले विकाससम्बन्धी उनको दृष्टिकोणलाई विशेष चासोका साथ हेरिएको थियो।
त्यसैले अहिले उनको कार्यसम्पादनलाई मूल्याङ्कन गर्ने आधार केवल संसद्मा उपस्थित हुनु वा जिल्लामा हुने भेटघाट मात्र होइन, निर्वाचनका क्रममा उठाएका मुद्दा कति योजनामा परिणत भए र ती योजना कार्यान्वयनको तहसम्म कति पुगे भन्ने प्रश्न पनि बन्न थालेको छ।
पराजुलीको पछिल्लो सक्रियतामा स्थानीय तहसँगको समन्वयलाई प्राथमिकता दिएको देखिन्छ। भदौ ३ गते जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा जिल्लाको समग्र विकास, पूर्वाधार निर्माण तथा स्थानीय तहबीचको समन्वयबारे भएको छलफलमा उनी सहभागी भएका थिए त्यस्तै, हालै लिसङ्खुपाखर गाउँपालिकाका स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै उनले सडक, खानेपानी, कृषि उत्पादन तथा बजारीकरण, सिँचाइ, रोजगारी र पूर्वाधार विकासका विषयमा स्थानीयका समस्या सुनेका छन् यी गतिविधिले सांसद पराजुलीले जिल्लाका समस्या बुझ्ने र स्थानीय तहसँग संवाद बढाउने प्रयास गरिरहेको देखाउँछ तर राजनीतिक विश्लेषणको दृष्टिले हेर्दा समस्या सुन्ने चरणपछि समाधान कार्यान्वयनमा पुग्नु नै उनको वास्तविक परीक्षाको मुख्य आधार हुनेछ।
नयाँ सांसदका रूपमा पराजुलीका लागि पहिलो छ महिना मुख्यतः संसदीय प्रक्रिया बुझ्ने, सरकारी निकायसँग सम्बन्ध विस्तार गर्ने र जिल्लाका प्राथमिकता पहिचान गर्ने समय पनि हो। त्यसैले छोटो अवधिमै ठूला विकास परिणाम नदेखिनु मात्रलाई असफलताको प्रमाण मान्न मिल्दैन तर उनले निर्वाचनअघि उठाएका विषय र आफूले प्रस्तुत गरेको विकासको अपेक्षा भने ठूलो छ। निर्वाचनको परिणामले पनि त्यो अपेक्षा देखाउँछ। सिन्धुपाल्चोक–१ मा पराजुलीले ३५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए। त्यसैले उनलाई मत दिने नागरिकको अपेक्षा केवल संसद्मा प्रतिनिधित्व गर्ने सांसदभन्दा बढी काम देखाउने र परिणाम दिने जनप्रतिनिधिको छ।
विशेषगरी सडक, खानेपानी, कृषि, पर्यटन, रोजगारी, जलविद्युत्, विपद् व्यवस्थापन र पूर्वाधारजस्ता विषयमा सिन्धुपाल्चोकले लामो समयदेखि समस्या भोग्दै आएको अवस्थामा सांसद पराजुलीले यी विषयलाई कसरी संघीय बजेट, नीति र योजनासँग जोड्छन् भन्ने चासोको विषय बनेको छ।
सांसद पराजुलीले “पाँच वर्षभित्र धेरै गर्न सकिन्छ” भन्दै आजैबाट सबैले आ–आफ्नो ठाउँबाट जन्मभूमि र कर्मभूमिका लागि जुट्नुपर्ने बताएका छन्। यो भनाइ आफैँमा एउटा राजनीतिक सन्देश पनि हो। सांसद एक्लैले जिल्लाको विकास गर्न सक्दैनन् तर संघीय संसद्मा जिल्लाको आवाज उठाउने, बजेट तथा नीति निर्माणमा पहल गर्ने, सरकारी निकायलाई जवाफदेही बनाउने र स्थानीय तहबीच समन्वय गराउने भूमिका सांसदको महत्वपूर्ण हुन्छ। त्यसैले अबको प्रश्न पराजुलीले वाचा सम्झिए कि बिर्सिए भन्ने मात्र होइन। मुख्य प्रश्न हो—उनीहरूले निर्वाचनका क्रममा जनतासामु राखेका सपना अब कति बजेटमा परिणत हुन्छन् कति योजना कार्यान्वयनमा जान्छन् र त्यसको प्रत्यक्ष लाभ नागरिकले कहिले महसुस गर्छन् /
सांसद पराजुलीको पहिलो छ महिना संवाद र समन्वय निर्माणको चरणका रूपमा देखिएको छ। अब सुरु भएको बजेट कार्यान्वयनको चरण भने उनको राजनीतिक यात्राको ‘डेलिभरी परीक्षण’ बन्ने देखिन्छ। सिन्धुपाल्चोकका नागरिकले अब आश्वासनभन्दा बढी योजना, बजेट, कार्यान्वयन र परिणाम हेर्न चाहेका छन्। पराजुलीले पनि आफूले चुनावी वाचा नबिर्सिएको स्पष्ट पारिसकेका छन्। त्यसैले आगामी दिनमा उनको प्रतिबद्धता कागज र भाषणबाट बाहिर निस्केर विकासको धरातलमा कति देखिन्छ भन्ने नै उनको पाँचवर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण मापदण्ड बन्नेछ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend