शान्ति नेपाल
काठमाडौं । कहिलेकाहीँ एउटा गीत केवल गीत हुँदैन, त्यो दुई संस्कृति, दुई भाषा र दुई समुदायबीचको भावनात्मक पुल बन्न पुग्छ। यस्तै एउटा प्रयासका साथ गायक श्याम प्रसाद सुवेदीले ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक गरेका छन्।
गीतले नेपाली र भोजपुरी भाषाको मिठासलाई एउटै सुरमा बाँधेको छ। शब्ददेखि संगीत र गायनसम्म सुवेदी स्वयंको सिर्जनात्मक योगदान रहेको यस गीतमा प्रेम, अपनत्व र सांस्कृतिक एकताको सन्देश झल्किएको छ।
निर्देशक कृष्ण राजभण्डारी (एसक्यू) ले दृश्य निर्माणमा विशेष मेहनत गरेका छन्। बारा जिल्लाका प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई समेट्दै निर्माण गरिएको भिडियोले दर्शकलाई गाउँघरको आत्मीय वातावरणमा पुर्याउँछ। मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको जोडीले भिडियोमा जीवन्तता थपेको छ।
गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुली, विनोद नेपाली, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियाली, बिमला परियार, व्यवसायी मिनबहादुर पहरी, मोडल अशोक कोइराला लगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
लोकार्पण कार्यक्रममा उपस्थित कला क्षेत्रका व्यक्तित्वहरूले गीतलाई नेपाली संगीत उद्योगमा एउटा सकारात्मक प्रयोगको रूपमा व्याख्या गरेका थिए। कार्यक्रममा सहभागी अधिकांशले यस गीतले सीमाना होइन, संस्कृतिलाई जोड्ने काम गर्ने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend