• शनिबार, कार्तिक २९ २०८३ | Saturday 14th November 2026

चक्रपथमा फोहोरसँग ‘युद्ध’ : सरसफाई अभियन्ताको जोशले फेरि जाग्यो स्वच्छ शहरको अभियान


  • शान्ति नेपाल
  • शनिबार, जेष्ठ २ २०८३

काठमाडौं । चक्रपथ क्षेत्रमा शनिबार बिहान देखिएको दृश्यले धेरैको ध्यान खिच्यो । कोही बोरा बोकेर दौडिरहेका थिए, कोही सडक किनारका फोहोर टिपिरहेका थिए, त कोही वातावरण जोगाउने सन्देश दिँदै अभियानमा सक्रिय देखिन्थे । यो दृश्य थियो चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ताको अवसरमा आयोजित फोहोर संकलन प्रतियोगिताको ।

सफा शहर निर्माणको लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताले केवल फोहोर व्यवस्थापन मात्र होइन, समाजमा चेतना, एकता र उत्तरदायित्वको भावना समेत फैलाएको सहभागीहरुको भनाइ छ । सानो स्वरुपमा सम्पन्न कार्यक्रमले ठूलो सामाजिक सन्देश दिएको भन्दै स्थानीयले समेत प्रशंसा गरेका छन् ।

प्रतियोगितामा १२ जना अभियन्ताहरु सहभागी भएका थिए । तीमध्ये हिमालयन वातावरण प्रा.लि.का विनोद गिरी प्रथम, बिनायक फोहोर व्यवस्थापन प्रा.लि.का सतिश कुमार द्वितीय तथा चक्रपथ सरसफाई महाअभियानकी सक्रिय अभियन्ता दिपिका खनाल तृतीय हुन सफल भएका थिए ।

विजेताहरुलाई खुसी इन्डष्ट्रिज नेपालको “माईती लिक्विड डिसवास” उत्पादनको तर्फबाट विशेष उपहार प्रदान गरिएको थियो । साथै ॐ बुद्ध डेन्टल प्रा.लि., बालाजु बाइपासले समेत उपहारको व्यवस्था गरेको थियो । प्रथम स्थान हासिल गरेका विनोद गिरीलाई एक पटकका लागि निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा उपलब्ध गराइने घोषणा भएपछि कार्यक्रममा थप उत्साह थपिएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई खुसी डेरी उद्योगको तर्फबाट सामाजिक अभियन्ता ध्रुव तिवारीले शुद्ध मोही वितरण गरेका थिए भने कलंकी निवासी दिक्षा थापाले पिउने पानीको व्यवस्था गरेर अभियानमा साथ दिएकी थिइन् ।

ग्रीन सिटी हस्पिटल, बसुन्धारा कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो । त्यस्तै तुफान न्यूज डटकम, राष्ट्रिय खबर डटकम, नेपाली मिडिया अनलाइन टिभी, बीएमएन न्यूज, मिसन भण्डाफोर, रोज नेपाल डटकम र साराखबर डटकमले समाचार तथा प्रचारप्रसारमार्फत अभियानलाई सशक्त साथ दिएका थिए ।

प्रतियोगिताको निर्णयक मण्डलमा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन, ओम विकास निरौला तथा सञ्चारकर्मी लोकेन्द्र राउत रहेका थिए । स्वयंसेवकको रुपमा सक्रिय अभियन्ता जित बहादुर हमालसँगै डा. पुष्कर काफ्ले, पुण्य रत्न बज्राचार्य, सुरेन्द्र सेडाई, गोपाल थापा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । मिडिया संयोजनको जिम्मेवारी सक्रिय अभियन्ता लिला खनालले सम्हालेकी थिइन् ।

कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डिबी पराजुली, राष्ट्रिय गायक तिलक बस्नेत तथा युवा अभियन्ता सुन्दर खनालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बिनायक फोहोर मैला व्यवस्थापन प्रा.लि., हिमालयन वातावरण संरक्षण प्रा.लि. तथा नेप्सेम्याक महाराजगञ्ज शाखाको समेत सक्रिय उपस्थिति रहेको थियो ।

यसैबीच, केपी फोटो स्टुडियो बसपार्कले प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई फोटोसहितको आकर्षक फ्रेम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

“सडक सफा बनाऔं, समाज सभ्य बनाऔं” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले सरसफाई अभियानलाई थप ऊर्जा र निरन्तरता दिएको आयोजकहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend