शान्ति नेपाल
नेपाललगायत अन्य स्थानमा हिन्दुले असत्य माथि सत्यको विजयका रुपमा हर्सोल्लासका साथ मनाइने दसैं, अमेरिकी कानुनमा समेत नेपालीहरुको महान चाडका रुपमा परिचित भएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यले दसैंलाई कानुनमै उल्लेख गरेर सम्मानका साथ अबदेखि दसैंमा सार्वजनिक बिदा समेत दिने भएको छ । मेरिल्याण्ड राज्यले गरेको यस निर्णयलाई यहाँ रहेका नेपालीहरुले महान चाड दसैंलाई अमेरिकी कानुनले समेत सम्मान व्यक्त गरेको धारणा व्यक्त गरेका छन् । विविध भाषा, संस्कृतिको सम्मान गर्ने अमेरिकी कानुनले नेपालीहरुको महान चाड दसैंलाई समेत कानुनी रुपमा मान्यता दिएको भन्दै नेपालीहरुले खुसी व्यक्त गरेका छन् ।
यस विधयेकलाई नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले मेरिल्याण्डको तल्लो सदनबाट केही समय पहिले पारित गराएका थिए । त्यसपछि उक्त विधयेकलाई राज्यको उपल्लो सदनमा पठाइएको थियो । नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारीले प्रस्तुत गरेको विधयेकलाई यस राज्यका अन्य सांसदहरु निक एलियन, कार्ल ज्याक्शन र लेजली लोपेजले साथ दिएका थिए ।
अमेरिकाको सबैभन्दा पुरानो संसद मेरिल्याण्ड राज्यको उपल्लो सदनबाट दसैं बिदा विधयेक सर्वसम्मत पास भएको छ । अब यस राज्यमा बस्ने नेपालीहरुले दसैंका बेला सार्वजनिक बिदा पाउनेछन् ।


© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend