शान्ति नेपाल
रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रबार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो ।
आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने वाचा गरेका छन्।‘डिफेन्डर अफ द फादरल्यान्ड डे’ का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताए । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् ।
रुस-युक्रेनबीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन सकेको छैन । दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।युरोपेली सङ्घसहित सात देशको समूह ‘जी सेभेन’ले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च ‘जी सेभेन’ का मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका हुन् ।भारतको बेङ्लोरमा ‘जी सेभेन’ का अर्थ मन्त्रीहरूबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताए ।दुई देशबीच युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने जनाएको छ ।
तर मानवीय क्षतिको पूर्ण विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।गएको वर्ष रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुई लाख सैनिक पठाएर आक्रमणको सुरुवात गरेका थिए। युक्रेनमा नेटोको उपस्थिति रोक्ने तथा युक्रेनको तटस्थ हैसियत रहनुपर्ने रुसको उद्देश्यअनुसार आक्रमण थालिएको थियो ।
यो एक वर्षको अवधिमा रुसले सबैभन्दा ठूलो उपलब्धिका रूपमा दाबी गर्न सक्ने भनेको रुसको सीमादेखि क्राइमियासम्म जमिनमा पुल निर्माण गर्नु हो । क्राइमिया सन् २०१४ मा रुसमा गाभिएको थियो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend