शान्ति नेपाल
काठमाडौं । सामान्य विद्यालयीय समारोहभन्दा बिल्कुल फरक, प्रविधि र सृजनशीलताको अद्भुत प्रदर्शनसँगै कश्यप एकेडेमीको दोस्रो वार्षिकोत्सव समारोह यस वर्ष असाधारण रूपमा सम्पन्न भएको छ। समारोहको उद्घाटन कुनै परम्परागत शैलीमा होइन, रोबटले रिबन काटेर र स्वचालित मेसिनबाट पानसमा बत्ती बालेर गरिएको दृश्यले उपस्थित सबैलाई अचम्मित बनायो।
उद्घाटनको त्यो क्षण विद्यालय परिसरमा उपस्थित अभिभावक, विद्यार्थी र अतिथिहरूका लागि केवल कार्यक्रमको सुरुआत मात्र होइन, आधुनिक प्रविधिसँग जोडिएको नयाँ शैक्षिक दृष्टिकोणको प्रतीक बनेको थियो। रोबोटिक प्रविधिबाट गरिएको उद्घाटनले कार्यक्रमलाई झनै रोमाञ्चक बनाउँदै उपस्थित सबैलाई उत्साहित बनाएको थियो।
मैत्रीनगर, कलंकीस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम कम्पनी अध्यक्ष कमला खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्मा सहभागी भएका थिए।
समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकेश तिवारी, जेष्ठ नागरिक नन्द प्रसाद सिलवाल, राष्ट्रिय योग प्रशिक्षक कञ्चन घिमिरे, विद्यालयका प्रिन्सिपल आर.बी. अधिकारी, सहायक प्रिन्सिपल नारायण पन्त, भाषा समन्वयक तथा ईसीए इन्चार्ज रबिन्सन बस्नेत, प्राथमिक तह इन्चार्ज एलिशा आचार्य लगायतको उपस्थिति रहेको थियो।
अभिभावक प्रतिनिधिका रूपमा ध्रुव रेग्मी र यादव सेडाईंलाई विशेष आतिथ्यता प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन अनिल खड्का र दिया ठाकुरीले गरेका थिए भने सहभागिहरूको दर्ता आश्मा कार्की र कृतन नगरकोटीले गराएका थिए।
समारोहका विशेष आकर्षण
रोबोटले रिबन काटेर कार्यक्रम उद्घाटन
स्वचालित मेसिनबाट पानसमा बत्ती प्रज्वलन
विद्यार्थीहरूले सञ्चालन गरेको औपचारिक कार्यक्रम
सांगीतिक तथा सांस्कृतिक प्रस्तुति
उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान
जेष्ठ नागरिकलाई विशेष अभिनन्दन
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रिन्सिपल नारायण पन्तले वर्तमान समयको आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै विद्यालयले रणनीतिक योजना बनाएर अघि बढिरहेको बताए।
उनले विद्यार्थीको पहिलो पाठशाला घर नै भएको उल्लेख गर्दै अभिभावकलाई आफ्ना नानीबाबुको शिक्षा, संस्कार र भविष्यप्रति अझ सचेत हुन आग्रह गरे।
“हामी भविष्य निर्माण गर्ने विद्यालय बन्न चाहन्छौं” — आर.बी. अधिकारी
समारोहमा बोल्दै संस्थापक प्रधानाध्यापक आर.बी. अधिकारीले कश्यप एकेडेमीको मूल उद्देश्य संस्कार, विज्ञान–प्रविधि र उद्यमशीलतालाई समेटेर समाजलाई आवश्यक पर्ने व्यक्तित्व निर्माण गर्नु रहेको बताए।
उनले छोटो समयमै अभिभावकहरूले देखाएको विश्वास र साथले विद्यालय परिवारलाई अझ प्रेरित बनाएको उल्लेख गरे।
उनका अनुसार विद्यालयले केवल शैक्षिक उपलब्धि मात्र होइन, सक्षम, जिम्मेवार र सिर्जनशील नागरिक तयार पार्ने लक्ष्य लिएको छ।
विद्यार्थी प्रतिभाको झिलिमिली
समारोहको अर्को आकर्षण भनेको विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति थियो। विद्यालयका संगीत प्रशिक्षक तथा संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरूले विविध सांगीतिक प्रस्तुति दिएका थिए।
मञ्चमा आफ्ना नानीबाबुको प्रतिभा देखेर अभिभावकहरू निकै उत्साहित र गर्वित देखिन्थे। विद्यालयले विद्यार्थीको प्रतिभा विकासलाई कति महत्व दिएको छ भन्ने कुरा यी प्रस्तुतीहरूले स्पष्ट देखाएका थिए।
उत्कृष्टताको सम्मान
समारोहमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरू :
सालिना पाण्डे — उत्कृष्ट शिक्षक
एलिशा आचार्य — उत्कृष्ट इन्चार्ज
इन्दिरा पौडेल — उत्कृष्ट कर्मचारी
त्यसैगरी समाजमा अग्रजप्रतिको सम्मान संस्कारलाई कायम राख्दै नन्द प्रसाद सिलवाललाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो।
नयाँ शैक्षिक पहिचानतर्फ कश्यप एकेडेमी
मैत्रीनगर, कलंकीस्थित कश्यप एकेडेमीले छोटो समयमै गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिका कारण अभिभावक र विद्यार्थीबीच आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ।
विद्यालयले संस्कार, विज्ञान र उद्यमशीलताको समन्वय गर्दै भविष्यका सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने लक्ष्यसहित अघि बढिरहेको छ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend